7/20/2019

पढ्ने बानी कसरी बसाल्ने?

पढ्ने बानी कसरी बसाल्ने?

पढ्ने बानी कसरी बिकास गर्ने?
अध्ययन गर्ने बानी विज्ञता प्राप्तिको एउटा आधार हो। बिनाअध्ययन कुनै पनि कुरामा विज्ञ हुन सकिन्न, न त परीक्षामै सफल हुन सकिन्छ। अर्को महत्त्वपूर्ण कुरा यो युगमा गाँस, बास, कपासजस्तै अध्ययन अर्को आधारभूत आवश्यकताभित्रै पर्न थालेको छ। मान्छेले विद्यालयदेखि विश्वविद्यालयस्तरसम्मको अध्ययन पूरा गर्ने क्रममा जीवनको लामो कालखण्ड पढाइमा बिताउने गर्छ। तैपनि कतिपयमा अध्ययन गर्ने बानी बसेको हुँदैन। अध्ययन गर्ने बानी पनि नशाजस्तै हो। झन पढ्यो झनै पढ्न मन लाग्छ।
कतिपय विद्यार्थी पढ्ने कामलाई बोझ सम्झने गर्छन। त्यो ठूलो भूल हो र गलत प्रवृत्ति पनि। खासगरी विद्यार्थीमा कसरी अध्ययन गर्ने बानी बसाल्ने भन्ने ज्ञान हुन आवश्यक छ। जसका कारण कतिपय विद्यार्थी न धेरै पढ्न सक्छन् न त चाहेअनुसारको सफलता नै पाउन सक्छन्। पढ्ने बानी बसाल्ने केही तरिका यहाँ उल्लेख छ :
  • अध्ययन गर्ने बानी बसाउन सुरुका केही दिन वा महिना आफूलाई मन पर्ने पुस्तक, पत्रिका वा अन्य रुचिका सामग्रीमात्रै पढ्नुपर्छ।
  • जबरजस्ती धेरै समय वा सामग्री पढ्नु हुन्न। सुरुका केही दिन दैनिक आधा घन्टामात्रै पढे हुन्छ। तर, यो समयलाई विस्तारै बढाउँदै लैजानुपर्छ।
  • कुनै पनि पुस्तक, पत्रिका वा अन्य सामग्री पढिसकेपछि यसबाट के ज्ञान वा जानकारी पाएँ भन्ने कुराको हेक्का राख्नुपर्छ। त्यो ज्ञान वा जानकारी कहाँ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सोच्नुपर्छ। यसले तपाईंलाई बौद्धिक विश्लेषण गर्ने बानीमात्रै होइन, आत्मविश्वास पनि बढाउँछ।
  • विद्यार्थीले पाठ्यसामग्री अध्ययन गरिसकेपछि त्यससम्बन्धी कति ज्ञान वा जानकारी पाउन सकेँ भन्ने मूल्यांकन गर्न र त्यसलाई अझ स्मरणीय बनाउन लेख्ने बानी गर्नुपर्छ। कतिपय विद्यार्थीमा पुस्तक पढ्दा बुझिसकेजस्तो लाग्ने तर लेख्ने बेलामा केही पनि नआउने प्रवृत्ति हुन्छ।
  • परीक्षाका बेला जबरजस्ती धेरै पढ्ने र अन्य समयमा किताब नै नहेर्ने बानी राम्रो होइन। त्यसले अध्ययन गर्ने बानी बिगार्नुका साथै मानसिक तनाव, अनिद्रा र अनावश्यक बोझ महसुस गराउँछ। त्यसैले परीक्षा आउनुभन्दा अगाडि नै अध्ययन गर्ने बानी बसालिसक्नुपर्छ।
  • चिया खाने बेला वा अन्य फुर्सदको समयमा साथीहरूसँग पाठ्यसामग्रीका कुनै विषयमा छलफल गर्नु राम्रो हुन्छ। यसले विषयगत ज्ञान बढाउनुका साथै छलफलमा आफ्नो तर्क सशक्त बनाउन पढ्नुपर्छ भन्ने भावना विकास हुन्छ।
  • कतिपयमा अनिद्राको समस्या हुनसक्छ। यदि राति राम्ररी निद्रा लागेन भने छट्पटाउनुको सट्टा उठेर पढ्ने बानी बसाउनुपर्छ। अध्ययनप्रतिको एकाग्रताले निद्रा ल्याउनुका साथै पढ्ने बानी पनि बस्छ।
विद्यार्थी हितको लागी श्री खड्गकाली मा.वि. चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा ।

6/30/2018

संगतले मात्र छोराछोरी विग्रिँदैन, व्यवहार निर्धारणमा प्रभाव पार्ने मुख्य तत्वहरु

संगतले मात्र छोराछोरी विग्रिँदैन, व्यवहार निर्धारणमा प्रभाव पार्ने मुख्य तत्वहरु

विद्यार्थी भाईवहिनीहरु ! हाम्रो चिन्ता सदैव तिमीहरुको पढाई प्रति हुन्छ । त्यसैले त तिम्रो स्वास्थ्यको, मितव्ययिता र आर्थिक अनुशासन लागि शिक्षकले सधैं तिम्लाई हप्काई दप्काई गर्ने । यो हैन कि शिक्षकले तिमीहरू माथि शासन गर्छ । मेहनत, लगनशीलता, परिश्रम र भविष्यको चिन्ता त विद्यार्थी स्वयं आफैले गर्ने हो । अरुको विषयको चिन्ता त कमजोर मनस्थितिका रोगीहरुले मात्रै गर्ने गर्छन् तिमीहरूले होईन ।
त्यस्तै, समस्त अभिभावक, शिक्षक र यस लेखको आम पाठकहरु । यो मैले भनिराख्नु जरुरी छैन कि; अब तपाईका छोराछोरी हुर्किसकेका छन् । के ठिक, के बेठिक आफैं छुट्ट्याउन सक्छन् । पूर्वीय सभ्यता संस्कृतमा एउटा श्लोक पनि छ - "पाँचबर्ष सम्म छोराछोरीलाई पुलपुल्याएर पालौंं, दशबर्षदेखि हप्काई दप्काई गरौं । अनि, सोह्र बर्ष पुगेका छोराछोरीलाई साथी समान व्यवहार गरौं ।
प्रसंग थोरै मैले आफैतिर मोड्न चाहेँ । असार १५ मा म गाउँ [चापाकोट-८ (लग्दा), स्याङ्जा] बाट खास कामले पोखरा आएको थिएँ । ब्याचलर पढ्दा साथीको गाउँमा गएको थिएँ । गाउँको तरुना तरुनीसंग भन्दा बूढाबूढीसंग मेरो राम्रो हेलमेल भएको थियो । अचानक साथीको गाउँको एकजना बुवाले मलाई फोन गरेर सल्लाह र परामर्श माग्नुभयो ।
उहाँको पहिलो समस्या यो थियो कि छोराछोरीलाई अब कहाँ राखेर पढाउने ? राम्रै जागिर, थोरै खेतिपाती र पुस्त्यौनी किराना पसल भएका ती बुवाको पोखरा/काठमाडौमा न घर छ, नत आफन्त । अन्त्यमा पोखरामा छोराछोरीलाई कोठा भाडा लिएर राख्नुभन्दा उहाँकै गाउँको साथीले चलाएको होष्टलमा छोरीलाई र छोरालाई कलेजकै होष्टलमा राख्ने निर्णय गर्नुभएको रहेछ । अनि मसंग सल्लाह माग्नुभयो । उहाँले फोनमै निकै चिन्ता व्यक्त गर्नुभयो । म अलमलमैं परें । खासमा म त्यति उमेर छिप्पिएको मान्छे पनि होइन जसले राम्रो सुझाव दिन सकोस् । तै पनि शिक्षण पेशामा लागेपछि उहाँहरु मलाई सानै उमेरको भएपनि आफूसरहकै व्यवहारमा कुरा गर्नुहुन्थ्यो । उहाँहरुको चिन्ता छोरा/छोरी विग्रेलान् कि भन्ने रहेछ ।
उहाँहरूले सबभन्दा पहिला साथी संगतिको चिन्ता व्यक्त गर्नुभयो । मैले सोझे उहाँहरुलाई भनें, चिन्ता नलिनुहोस् तपाईको छोराछोरीको चरित्र र आनिबानिमा अब साथी संगातीको खासै प्रभाव पर्दैन । उनीहरु मेरा कुराप्रति अविश्वास गर्दै आफ्नै कुरामा रटिन थाले - "हाम्रो गाउँको सन्तेकेको छोरा इन्जिनियर कि खै के जाति हो' कुन्नी पढ्न पठाका, बजारको ट्यापे केटाहरुसंग लागेर बिग्रिन लाग्याछन रे…"
मैले उहाँहरूलाई सम्झाउँदै बुझाउँदै व्यवहार निर्धारण सम्बन्धमा केहिँ सुझावहरु दिएँ । यी समस्या उहाँहरुको मात्र नभए आम अभिभावको हुने भएकाले यस श्री खड्गकाली मा.वि. को वेवसाइटबाट आम अभिभावकसामु केही सुझावहरु राख्न चाहन्छु । व्यवहार विज्ञानका अनुसार कुनै पनि व्यक्तिको चरित्र एवं स्वभाव बन्नमा पाँच कुराको प्रभाव रहेको हुन्छ -
१. जेनेटिक/जीन तथा बंशानुगत गुण: बालबालिकाहरुको स्वभाव, चरित्र र व्यक्तित्वमा आफ्ना बाबु, आमा, हजुरबा, हजुरआमा वा परिवारका अन्य सदस्यको डिएनएबाट गुण एवं स्वभावहरु आउँछन् । त्यसको अत्यधिक प्रभाव हुन्छ । बंशानुगत गुणहरु सँगसँगै चरित्र र स्वभाव कस्तो हुन्छ भन्ने प्रभाव हुन्छ । कतिपय अनुसन्धानले देखाएको छ कि इलेक्ट्रोन प्रोटोन र न्युट्रन जसरी सानो सानो कणमा विभक्त गर्दा पनि उहि रहन्छ त्यसै गरि जीनको प्रभाव पनि सन्तानहरुमा पर्छ । भलै त्यसमा वातावरणले पनि प्रभाव पार्न सक्छ । जसरी चिकित्सकहरुले विरामीको केश हिस्ट्री लिँदा आमा बाबुहजुरबा हजुर आमालाई के कस्ता रोगहरु सुगर, प्रेसर आदि इत्यादि रोग थिए भनेर सोध्छन् । त्यो पनि एक प्रमाण हो । चरित्रमा पनि जीनको अत्यधिक प्रभाव हुन्छ । यो स्वत आउने गुणहरु हुन् जसमा व्यक्ति स्वयम्को भने कुनै नियन्त्रण हुँदैन ।
२. प्यारेन्टिङ्ग अर्थात अविभावकत्व: जोसँग बच्चा हुर्कन्छन्, जसले बालबालिकालाई खुवाउने पियाउने, बोल्ने, खेल्ने हास्ने हसाउँने, रुँदा फुल्याउने, फुक्र्याउने, हप्काउने, दप्काउने, नियम, अनुशासनका घेरा कोर्ने काम गर्दछन् यसले पनि ठूलो प्रभाव पार्दछ ।
यसो त यदाकदा हाम्रो समाजमा यो पनि सुन्न पाइन्छ "मामाघरमा हुर्केको छोरा/छोरी कति सोझा छन्, यो चाहीँ बाउआमासंग पुल्पुलिएर मात्तिएका… ।" हो, कतिपय सन्दर्भमा 'बुढा भएका हजुरबालाई डोकोमा बोकेर भिरबाट फाल्न लागेका बाबुलाई साना छोराछोरीले डोको चाँहि फर्काएर ल्याउनु होस् है' भनेको प्रसंग चलनचल्तीमा छ । भोली तपाईलाई यहि डोकोमा हालेर फाल्नुपर्छ, बच्चाले भनेपछि बा/आमाको चेत खुलेको कथा समाजमा चर्चित छ । योे भनेकै प्यारेन्टिङ्ग हो । पहिलो पाठशाला बाबु–आमा नै हो भन्ने यसबाट पनि पुष्टि हुन्छ ।
३. स्कुलिङ्ग वा शैक्षिक संस्था, पाठ्य सामग्री, शिक्षकशिक्षण: तपाईले के कस्तो शैक्षिक संस्थामा बच्चालाई पढाउनु भएको छ वा पढाएको निगरानी गर्नुभएको छ ? त्यहाँको वातावरण, सिकाई, शिक्षक–शिक्षिकाहरुको आनि, बानी र व्यवहारहरु त पक्कै हेक्का राख्नुभएको होला । पहिलो सिकाइका गुरुहरुका अभिव्यक्ति र व्यवहारले बालबालिकामा प्रेरणा उत्पन्न हुन्छ । के कस्ता पुस्तक पढ्छन् ? वातावरमा उपलब्ध सिकाइ सामाग्रीहरुको प्रभावमा व्यक्तित्व र चरित्र निर्माण हुन्छ । खासमा शिक्षकको जीवनको भोगाई केटाकेटिहरुको सिकाई हुन्छ भन्दा फरक पर्दैन । आलोचनामा हुर्केको बच्चाले निन्दा गर्न सिक्छ र प्रशंसामा हुर्केको बच्चाले अरुको कदर गर्न सिक्छ । वैरभावमा हुर्केको बच्चाले झगडा गर्न सिक्छ, सहनशीलतामा हुर्केको बच्चा क्षमाशील बन्न सिक्छ, उपहासमा हुर्केको बच्चाले संकुचित हुन सिक्छ, प्रोत्साहनमा हुर्केको बच्चाले आत्मविश्वासी हुन सिक्छ । निस्पक्षतामा हुर्केको बच्चाले न्यायनिसाफ सिक्छ भने सुरक्षामा हुर्केको बच्चाले माया पाउन सिक्छ । आदरणिय अभिभावक ज्यूहरु, अब सोंच्नुस् - 'तपाईका छोराछोरी कस्तो वातावरणबाट गुज्रिएका छन् ?' किनकि विगतले वर्तमान र वर्तमानले भविष्यलाई मार्ग निर्देश गरिरहेको हुन्छ । 
४. पियर्स अर्थात साथीसंगाती र सामाजीक बातावरण: यसको प्रभाव व्यक्तिको व्यक्तित्व र चरित्र निर्माणमा परिरहेको हुन्छ । हुर्कदाका बखतमा पारिवारिक, सामाजिक सम्बन्ध, बालबालिकाको वरिपरिको वातावरण आदिले उनीहरुले सबैभन्दा धेरै समय व्यतित गर्ने कुरा, नजिकका साथीहरु, धार्मिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, रहन सहन, समाज, सूचना प्रविधिको प्रयोग आदि कुराबाट व्यक्तिको चरित्र निर्माण हुन्छ । यिनै प्रभावले आफूलाई पोजिसनिङ्ग गरिरहेको हुन्छ ।
५. ड्रीम वा सपना: बच्चा भविष्यमा आफू के कस्तो बन्न चाहन्छ बालबालिकाले माथिको चारवटै तहबाट भित्रभित्रै सपना बुनेका हुन्छन् । आफ्नो काल्पनिक रुप तयार गर्दै सोहि अनुरुप चरित्र निर्माण भएको हुन्छ । भविष्यमा कलाकार, गायक, संगीतकार, नेता, लेखक, कवि, डाक्टर, इन्जिनियर आदि ईत्यादि जे बन्ने सुसुप्त सपना बनाएको हुन्छ सोहि अनुरुप आचरण र व्यवहार गर्दै जान्छ । यस्ता कुराको प्रभावमा व्यक्तिको चरित्र निर्माण हुन्छ । यी विषयमा सामान्य ज्ञान भएमा अविभावकले आफ्ना छोराछोरी विग्रन्छन् कि भनेर चिन्तित भैरहनु पर्दैन । साथी संगातीको प्रभाव त्यतिधेरै हुँदैन जति अन्य चार आयामहरुमा छन् । तसर्थ अभिभावक ज्यूहरु, आफ्नो बच्चालाई अरुको देखासिकी गरेर र SEE को प्राप्ताङ्कमा आधारित भएर साइन्स, कमर्स, नर्स हैनकि उनीहरुको रुचि अनुसार विषय पढ्न उत्साहित गर्नुहोला । धन्यबाद!
(बिकास गुरुङ)
अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुरा

अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुरा

तपाईंले लेखेको कुनै पनि कुरा जब कसैले सहजै बुझ्न सक्छ, तब तपाईं राम्रो लेख्न सक्नुहुन्छ भन्ने पुष्टि हुन्छ । अन्य भाषाजस्तै अंग्रेजीमा पनि राम्रो लेख्नका लागि केही सर्तहरु छन्, जसलाई पूरा गरेर नै तपाईंले आफ्नो लेखन कौशल देखाउन सक्नुहुन्छ ।
त्यसैले आज हामीले अंग्रेजीमा लेख्दा ख्याल राख्नुपर्ने एकदमै सामान्य कुराको बारेमा जानकारी दिँदैछौं, जसले तपाईंको अंग्रेजी लेखनलाई थप मजबुद् बनाउनेछ ।

1. Time And Tense: कुनै पनि कुरा लेख्दा वा वाक्य बनाउँदा ख्याल राख्नुस्, कतै तपाईंले ‘समय र काल’ (Time And Tense) सँग छेडछाड त गरिरहनुभएको छैन । एउटा कुरा भन्नका लागि हमेशा एउटै टेन्सको प्रयोग गर्नुहोस् । साथै समय र कालको कम्बिनेशनलाई पनि ख्याल राख्नुस् ।
Example: I went to my friend’s college yesterday and we played tennis together. (Correct)
I went to my friend’s college yesterday and we play tennis together. (Incorrect)

2. Subject Verb Agreement: अंग्रेजीमा कुनै पनि वाक्यलाई सही लेख्नका लागि सबैभन्दा ठूलो भूमिका Subject Verb Agreement को हुन्छ । यदि तपाईंले यसलाई नियमअनुसार वाक्यमा प्रयोग गर्नुभएन भने तपाईं सही लेख्न सक्नुहुन्न ।

Example: Everyone has done his/her homework. (Correct)
Everyone have done his/her homework. (Incorrect)

3. Articles: यसको राम्रो जानकारी नहुँदा लाग्छ, वाक्य विन्यासमा Articles को प्रभाव न्यून हुन्छ । तर, यो सोचाइ बिलकुल गलत हो । हाम्रो नेपाली भाषामा Articles को ज्यादा प्रयोग हुँदैन । तर, अंग्रेजीमा Articles विना तपाईंको लेखाइ कहिल्यै राम्रो हुन सक्दैन ।

Example: I watched a movie Yesterday. (Correct)
I watched movie Yesterday. (Incorrect)

4. Preposition को अभ्यास: यसको वेसिक नियम जानकारी हुनु अति आवश्यक छ । यसमा कमाण्ड तब पाउनुहुन्छ, जब तपाईं फ्रेजल भर्व र वर्ड्सको साथमा लाग्ने Preposition को याद राख्नुहुन्छ । यसका लागि लगातार लेख्ने प्राक्टिस गर्नु प्रभावकारी हुन्छ । Preposition याद राख्नका लागि अंग्रेजी नोभल, न्यूजपेपर तथा म्यागेजिन पढ्न सक्नुहुन्छ ।

Example: I am at Work. (Correct)
I am in Work. (Incorrect)

5. छोटो वाक्य लेख्नुस्: अंग्रेजीमा छोटा र सिधा वाक्यहरु प्रभावकारी मानिन्छन् । हामी जब कुनै कुरा लेख्दछौं, जुनकुरा पढ्ने मानिसले सहजै बुझ्न सकोस् । छोटो वाक्य लेख्न तपाईंका लागि पनि सहज हुन्छ र पढ्नेहरुका लागि पनि ।

6. लेख्दै गर्दा कन्फ्यूजनमा नरहनुस्: तपाईंले अंग्रेजी लेख्दै जाँदा कहीँ कन्फ्यूजन भयो भने त्यसमा सोचेर नबस्नुस् । कि त त्यो वाक्य नै हटाइदिनुस्, कि त तुरुन्त ग्रामर बुक पल्टाएर नियम हेर्नुस् ।

7. जुन भाषामा लेख्नुभयो उसैमा सोच्नुस्: यो समस्या मातृभाषा अंग्रेजी नहुने सबैमा हुनेगर्छ । हामी कनिकुथी भएपनि अंग्रेजीमा लेख्छौं र नेपालीमा त्यसलाई बुझ्छौं । अर्थात लेखेको कुरालाई नेपालीसँग कन्भर्ट गरेर सोच्छौं । यसो गर्दा सेन्टेन्सको फ्रेमिङ राम्रो हुँदैन, जुन कुराको पत्तो स्वयम् लेख्नेवाला व्यक्तिलाई पनि हुँदैन । त्यसैले अंग्रेजीमा लेख्दै हुनुहुन्छ भने अंग्रेजीमै सोच्नुस् ।

8. वर्ड अर्डर मजबुद् बनाउनुस्: हमेसा यो कुराको ख्याल राख्नुस्, लेख्दै गर्दा एक शब्द दोस्रो शब्दसँग जोडिएको होस् । यसलाई मजबुद् बनाउनका लागि तपाईंलाई ग्रामरको नियमहरुको बेसिक जानकारीका साथसाथै धेरैभन्दा धेरै शब्दहरुको जानकारी हुनु जरुरी छ ।
शिक्षकले किन पढ्नुपर्छ ? शिक्षकले चाहेमा गर्न सक्छन्, शिक्षण सुधार शिक्षकबाटै शुरु हुन्छ

शिक्षकले किन पढ्नुपर्छ ? शिक्षकले चाहेमा गर्न सक्छन्, शिक्षण सुधार शिक्षकबाटै शुरु हुन्छ

पढ्नु भनेको के हो ?

पढ्नु भनेको ज्ञान लिनुका साथै कुनैपनि विषयवस्तुबारे आफ्नो धारणा बनाउने काम हो । पढ्नु भनेको आफूलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आफू रमाउनु हो । पढ्नु भनेको हाम्रो प्रकृति, हाम्रो समाज, विश्व ब्रम्हाण्डको नियम थाहा पाउनु हो । यदि नियम थाहा पाउन सकिए त्यसलाई स्वरुप परिवर्तन गरेर मानवीय हितमा लगाउन सकिन्छ । पढेर नै विभिन्न विज्ञानका सिद्धान्तहरु पत्ता लागेका हुन् । पढ्नु भनेको विभिन्न कला सिक्नु पनि हो । जीवनको लक्ष्य खोज्नु पनि पढ्नु नै हो ।

खासमा के पढ्ने ?

पढ्नु पर्छ भन्ने सबैलाई थाहा छ । तर, के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । जे मिल्छ त्यहीँ पढ्नु पर्छ । पढाउने विषय र पाठसँग सम्बन्धित पुस्तक त पढ्नै पर्छ । साथै, शिक्षकले उपलब्ध भएसम्म र पाएसम्मका पुस्तक पढ्नु पर्छ । एक–एकवटा किताब पढ्नु पर्छ । नसके पनि महिनामा एउटा त अवश्य पढ्नै पर्छ । किनेर, खोजेर, मागेर, सापट लिएर, पुस्तकालयमा गएर भएपनि शिक्षकले पढ्नचाहिँ पढ्नै पर्छ । पाएका किताब र पत्रपत्रिका केही छोड्न हुँदैन । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । शिक्षकलाई दुबै चाहिन्छ ।

अनि पढेर के हुन्छ ?

पढाइ भनेको आदर्श व्यक्तित्व जन्माउने प्रक्रिया हो । असल–खराब छुट्याउन सक्ने विवेक दिने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आदर्शमा परिणत गर्ने, मानवता र नैतिकताको प्रस्फुटन एवं इच्छानुरुपको प्रतिभा विकास गराउने काम पढाइबाट नै हुने गर्छ । जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ग्राह्य ज्ञान नै पढाइ हो । मानिस पढेरै असल र महान भएका हुन् । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । पढाइको विकल्प यो संसारमा मात्रै होइन् पुरा ब्रम्हाण्डमा नै छैन । त्यसैले निरन्तर पढिरहन आवश्यक छ । शिक्षकले त अझ बढी पढ्न आवश्यक छ ।

शिक्षकले किन पढ्ने त?

शिक्षकको काम नयाँ कुरा सिकाउने हो त्यसका लागि पढ्नु पर्छ । नपढ्नेले सिकाउन त सक्दैन नै, आफू पनि सिक्न सक्दैन । त्यसैले पनि शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । शिक्षकले आफू पढेर आफ्ना विद्यार्थीहरुलाई पनि पढ्ने प्रेरणा दिनु पर्छ । पढ्ने र नपढ्ने शिक्षक विद्यार्थीले टाढैबाट चिन्छन् । भनिन्छ, संसारले नपढेको कुरा शिक्षकले पढ्नु पर्छ । शिक्षकले प्रत्येक दिन, प्रत्येक साता र प्रत्येक महिना नयाँ कुरा पढ्नु पर्छ । शिक्षक समाज र देशका अगुवा हुन्, त्यसैले पनि भनिन्छ शिक्षकले पढे देश जान्ने हुन्छ ।
तर, हामी सरकारी शिक्षकहरुमा जागिरे मानसिकता बोकेर विद्यालय जान्छौं । विद्यार्थीसंग भेटघाट गर्ने र सञ्चो–विसञ्चो थाहा पाउने अनि वर्ष दिनको कोर्ष छिट्टो कसरी सक्ने भन्ने हाम्रो ध्याउन्न हुन्छ । हामी शिक्षक ‘शिक्षक’ भएको बीसौं वर्ष अगाडिको पढाइले हो । अब त्यो पढाइले अहिलेको पढाइलाई धान्न सक्छ कि सक्दैन ? किनकी, विकसित सञ्चार–साधनहरूका कारण आजका बालबालिकाका ज्ञानको परिधि पहिलेका तुलनामा स्वतः चौडा हुन पुगेको छ । उनीहरूका आवश्यकता र प्राथमिकता पनि फेरिएका छन् ।
दिनदिनै बदलिएको शिक्षा र खोजिएका ज्ञानसँग हाम्रो शिक्षा मेल खान्छ कि खादैन ? आफैंले आफैंसँग प्रश्न गर्न आवश्यक छ । यदि हामीले लिएको शिक्षाले अहिलेका विद्यार्थीलाई राम्ररी सिकाउन सक्दैनौं भने आफ्नो क्षमता बढाउन हामीले पनि पढ्नुको विकल्प बाँकी रहँदैन । हामी आजको युगलाई चाहिएको बच्चाको चाहना र परिवर्तित युगमा बाँच्न सक्ने ज्ञान दिन सक्षम छौं कि छैनौं भन्ने विश्लेषण गर्दै विगतको समयमा बाँच्नका लागि लिएको शिक्षाले वर्तमानमा बच्चालाई बाँच्न सक्षम बनाउन सक्छ कि सक्दैन ? गम्भीर प्रश्न हामी तमाम शिक्षकहरुमा तेर्सिएको छ । हामीले शिक्षक कसका लागि हौं ? जागिरका लागि, आफ्ना लागि, सरकारका लागि वा बच्चाका लागि सोच्ने बेला आइसकेको छ । यदि जागिर खाएर कमाउनका लागि मात्रै शिक्षण पेशा रोजिएको हो भने अन्य विकल्प रोज्दा वेश हुन्छ । धेरै कमाइ अन्तै छ ।

के पढाउने ?

शिक्षकले विद्यार्थीलाई पाठ्यपुस्तक मात्रै रटाउनु भनेको शिक्षण पेशाप्रतिकै वेइमानी हो । विद्यार्थी प्रति गरेको अपराध हो । पाठ्यपुस्तक शिक्षकहरुका लागि होइन, विद्यार्थीका निम्ति हो । शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ ।
ज्ञान एउटा पुस्तकमा मात्र अटाउने कुरा होइन । त्यसैले धेरै पुस्तक पढेर धेरै थरिकै ज्ञान दिने गर्नु पर्छ । शिक्षक आफूले पढ्दाको र पास हुँदाको ज्ञान धेरै पुरानो र बोधो भइसकेको हुन्छ, पहिल्यै सिकेका कुराहरु भुलिसकिएको र सम्झे पनि खिया लागिसकेको हुन्छ । सोको अध्यावधिक र ज्ञानलाई समयानुकुल नवीकरण गर्न पनि नियमित पढ्न आवश्यक छ । हामी शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उत्साही, दृढ मत भएका, अनुशासित, आफ्नो विषयका ज्ञाता, विनोदी साथै सहज बन्न आवश्यक छ ।

कसरी पढाउने ?

कक्षाकोठामा पस्नुभन्दा पहिले शिक्षकले तयारी गर्न आवश्यक छ । यो सिकाउछु, यति सिकाउछु, यसरी सिकाउछु यो क्रियाकलाप गर्छु भन्ने पूर्व तयारी गर्न आवश्यक छ । हामी शिक्षकहरू धेरै वर्ष पढाइसकें भनेर विना तयारी कक्षाकोठामा प्रवेश गर्छौैैं । विद्यार्थी भने अहिलेका विभिन्न सूचना सामग्रीका कारणले हामीले दिएका शिक्षाले नअघाउने भइसकेका छन् । आफैं मद्यपान गर्ने विद्यार्थीलाई भने स्वास्थ्य पढाउने, गाउँमा झै–झगडा गर्ने र विद्यार्थीलाई सामाजिक पढाउने, पाँचजना सन्तान जन्माउने अनि जनसंख्याको महत्व पढाउने गरे के हुन्छ ? हामी शिक्षक जीवन्त प्रतिमा हौं जोसँग विद्यार्थीले तादात्म्य स्थापित गर्छन् र साथै हामीसँग आफ्नो तुलना पनि गर्छन् ।
त्यसैले पहिले हामी शिक्षक जस्तै बन्न आवश्यक छ । संसार परिवर्तनशील छ । ज्ञान र सीपको दायरा पनि फराकिलो बन्दै गइरहेकाले समयानुकूल नया“ तथ्यहरुको धारणा दिन तथ्य सूचना विद्यार्थीलाई उपलब्ध गराउन, तथ्याङ्कहरुको अध्यापनको सजिलोको लागि पनि शिक्षकले पढ्नै पर्छ । आवश्यक अध्ययन र तयारी पछि मात्रै शिक्षक विद्यार्थीमाझ प्रस्तुत हुन आवश्यक छ । हामी शिक्षण प्रक्रियालाई नै यस्तो बनाउन सक्नु पर्छ । जसबाट विद्यार्थीले पढ्दा स्वयं आनन्दको अनुभूति गरोस् र त्यसमा तल्लीन हुन पुगोस् । कक्षामा विद्यार्थीहरुले सोध्ने उत्तरहरुको पूर्व तयारी, पाठशीर्षक अनुरुप शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक सामग्रीको पूर्व तयारीका लागि विद्यार्थीले भन्दा शिक्षकले धेरै पढ्नु पर्छ । शिक्षक आफैंमा सिङ्गो पाठ्यक्रम हो । त्यसैले, शिक्षकमा सबैखाले ज्ञान र सुचना हुन आवश्यक छ ।
सन्दर्भ–सामग्री, सबैखाले पुस्तकहरु, पत्रपत्रिका, अनुसन्धानहरुसँगै इन्टरनेटमा खोजेर नयाँ कुरा विद्यार्थीसम्म लग्नु आवश्यक छ । हामी बीस वर्ष अगाडि जसरी पढाइरहेका थियौं, त्यसरी नै पढाइरहेका छौं । जस्तो व्यवहार गरिरहेका थियौं, अहिले पनि त्यस्तै गरिरहेका छौं । आफू घरमा केही नपढिकन जाने अनि विद्यालयमा गएर तैंले पढिनस् भन्नु कति जायज होला ?

6/01/2018

सफल हुनको लागि कसरी गर्ने परीक्षाको तयारी ?

सफल हुनको लागि कसरी गर्ने परीक्षाको तयारी ?

परीक्षाको बेला तनावमुक्त हुनुपर्छ । पढेको कुरा पुनः स्मरण गर्नुपर्छ । तर, ‘टुप्पि कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नु सहि बिधी होइन ।

तनावमुक्त हुनुपर्छ

परीक्षाको बेला रातदिन किताव घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाडै उठेर फेरी किताव हेर्ने । अभिभावकले पनि यस्तै अपेक्षा गर्छन्, जो बिद्यार्थीको निम्ति बोझिलो बन्न सक्छ । त्यसैले पढेको बखत बेला-बेला बिश्राम लिनुपर्छ । एकछिन बाहिर टहल्ने, खेल्ने वा हल्का मनोरञ्जन लिने गर्नुपर्छ । अझ योग वा प्रणायम गर्न सके सर्बोत्तम हो, यसले मस्तिष्कलाई स्वास्थ्य र चुस्त राख्छ । ध्यान एकाग्र गर्न सहयोग गर्छ ।

तालिका मिलाउने

रातदिन किताव घोक्नु भन्दा एउटा तालिका तयार गरौं । बिहान कति समय पढ्ने वा बेलुकी कति समय पढ्ने ? सोको निर्धारण गरौं । त्यही अनुसार पढ्ने तालिका बनाउन सकिन्छ । यसले समय-व्यवस्थापन त राम्ररी हुन्छ नै, पढाईको चाप पनि अनुभव हुँदैन ।

लेखेर अध्ययन गर्ने

पाठ कण्ठ गर्ने वा पाठ बाचन गर्ने शैली त्यती प्रभावकारी मानिदैन, खासगरी स्मरणका लागि । आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी उपयुक्त हुन्छ ।

लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने बिधी अपनाउनु सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्माविश्वास पनि बढ्छ । कुनैपनि पाठ याद गर्नका लागि पुस्तक पढ्ने वा लेख्ने र आँखा चिम्लिएर त्यसलाई मनन गर्ने हो ।

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

केही टिप्स

– उत्तर लेख्ने भन्दा पनि प्रश्न बनाउने अभ्यास गर्न सकिन्छ । आफैले प्रश्न बनाएर त्यसको हल गर्ने अभ्यास गरौ ।

– सामूहिक पठन बिधी पनि प्रभावकारी हुन्छ । मिल्ने साथीहरुको समूह बनाएर सम्बन्धित बिषयमा तर्क-बितर्क गर्ने अभ्यास गरौं । यसरी प्राप्त गरेको ज्ञान दीगो पनि हुन्छ ।

– पाठ घोक्ने प्रयास नगरौं । बरु पढेको कुरालाई बुझ्ने वा स्मरण गर्ने अभ्यास गरौं ।

– आफुलाई अप्ठ्यारो लाग्ने बिषयमा बढी समय दिनुपर्छ र मिहेनत पनि गर्नुपर्छ । तर, त्यसका लागि चिन्तित हुनुपर्दैन । आफुले बुझेको र जानेको कुरालाई राम्ररी प्रस्तुत गर्न सकियो भने काफी हुन्छ ।

– आत्माविश्वासले तपाईको परीक्षामा ठूलो उर्जा मिल्छ । परीक्षासँग डराउने वा हतास हुने होइन, परीक्षालाई अवसरको रुपमा लिनुपर्छ ।

कसरी लेख्दा राम्रो अंक प्राप्त हुन्छ ?

– प्रश्नपत्र हात परेपछि पहिला त्यसलाई ध्यान दिएर पढ्नुपर्छ । अतः त्यसमध्ये आफुलाई सबैभन्दा सजिलो लाग्ने प्रश्नको हल गर्नुपर्छ । यसले आफुमा आत्माविश्वास बढ्छ । बिर्सिएका कति कुराहरु पनि स्मरण हुन्छ ।

– उत्तर लेख्नुअघि प्रश्न दोहोर्‍याएर पढ्ने । प्रश्नको आशय बुझेर मात्र त्यसको जवाफ लेख्नुपर्छ । प्रश्नले के मागेको हो, कति मागेको हो त्यतीमात्र जवाफ दिनुपर्छ । प्रश्न हल गर्दा प्राप्त हुने अंकको आधारमा जवाफ कति गहिराइमा पुगेर दिने हो भन्ने निर्धारण गर्नुपर्छ ।

– प्रश्न बुझेर आफ्नै शैलीमा जवाफ दिने अभ्यास राम्रो हो । यसबाट बिद्यार्थीको बौद्धिक क्षमता मापन हुने हो । रचनात्मक जवाफले नै बढी अंक प्राप्त हुन्छ ।

अभिभावकले उत्प्रेरणा दिने

परीक्षाको बेला अभिभावकले सहयोगी भूमिका खेल्नुपर्छ । आफ्ना छोराछोरीमाथि बढी अपेक्षा लाद्ने होइन । उनीहरुलाई नतिजामा केन्दि्रत गरेर धेरै अंक ल्याउनुपर्छ भनेर दवाव दिनु हुँदैन । बरु, सहज वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरुलाई कुनै बोझ महसुष नहोस् । छोराछोरीलाई अरुसँग तुलना गरेर मनोबल गिराउने काम गर्नु हुन्न । बरु, पढ्नका लागि प्रेरित गर्नुपर्छ ।

छोराछोरीको स्वास्थ्यमा बढी ख्याल राख्नुपर्छ । उनीहरुलाई सुत्ने, उठ्ने तालिका नियमित गराइदिनुपर्छ । खानपानमा पनि सर्तक हुनुपर्छ ।

– परीक्षामा छोराछोरीलाई भरपुर आइरन र प्रोटिनयुक्त खानाको आवश्यक हुन्छ ।

–  पानी एवं झोल पदार्थ पनि पुग्दो मात्रामा दिनुपर्छ ।

– लेमन टि, ग्रीन टि दिनुपर्छ ।

- छोराछोरीलाई आफुले विना सर्त प्रेम गरिरहेको अनुभूति दिलाउनुपर्छ ।
परिक्षामा कसरी पढ्ने, विद्यार्थीहरुका लागी महत्वपुर्ण ११ सुझाव

परिक्षामा कसरी पढ्ने, विद्यार्थीहरुका लागी महत्वपुर्ण ११ सुझाव

धेरै विद्यार्थीको एउटै गुनासो हुन्छ, राम्ररी पढ्नै सकिएन । राम्रो स्कुल र पढ्ने वातावरण भए पनि राम्रो नतिजा ल्याउन नसकेर विदार्थीहरु छटपटिन्छन् । राम्रो नतिजा ल्याउन पढ्ने बानी विकास गर्नुपर्छ । पढ्ने बानी विकास गर्न विज्ञहरुले ११ सुझाव दिएका छन् ।

१, एउटै समय र स्थानमा बसेर पढ्दा उत्तम हुन्छ । सकेसम्म पढ्न डेस्कको प्रयोग गर्नुपर्छ । डेक्स नभएमा पढ्ने निश्चित ठाउँ बनाउँदा राम्रो हून्छ ।

२, पढ्न बसेपछी अन्य कुरामा ध्यान दिनु हुदैँन । ईमेल हेर्ने, एमएमएस पठाउने, मोबाईल चलाउने वा टोलाएर बस्ने बानीले पढाईमा गति लिन सक्दैन , त्यसैले एकाग्र भएर जति समय सकिन्छ, त्यति समय पढ्ने बानी पार्नुपर्छ ।

३, पढ्न बस्नुअधि नै कति पढ्ने भनेर तय गर्नुपर्छ । जस्तै निबन्धका दुई पेज सक्ने वा गणितका दश हिसाब गर्ने ।

४, धेरै ठुलो विषयलाई टुक्राएर पढ्नुपर्छ । निबन्ध लेख्नु छ भने पहिले त्यसको मुख्य निचोड लेख्नुपर्छ । पढ्ने विषयको टिपोट गरेर पनि सजिलो बनाउन सकिन्छ ।

५, मानिसले सबै कुरा सम्झन सक्दैन । त्यसैले हरेक विद्यार्थीले प्रत्येक विषयको नोट बनाउँदा राम्रो हुन्छ । विद्यार्थीले चाहिएको बेला त्यसलाई उपयोग गर्न सक्छ ।

६, विद्यार्थीले पछिसम्म पनि सम्झनका निम्ति व्यवहारीक तरिकाले पढ्ने् बानी बसाउनुपर्छ ।

७, विद्यार्थी अरु नै कुरामा सोचिरहेका हुन सक्छन् । त्यसो गर्नु हुदैन । पढाईमै एकाग्रताको प्रयास गर्नूपर्छ र

८, राम्रो आहार विद्यार्थीको शरीर र मस्तिष्कका लागि आवश्यक छ । दैनिक तिनपटक अनिवार्य रुपमा भोजन गर्नुुपर्छ र खाजासमेत छुटाउनु हुन्न । यसले गर्दा मात्रै आफ्नो पढाईमा राम्रो गर्न सक्छन्, धेरै सुख्खा खानेकुरा खान हुँदैन र

९, विद्यार्थीका लागि व्यायम अनिवार्य छ । दैनिक कम्तिमा २० मिनेट व्यायाम गर्नुपर्छ ।

१०, जाँच दिईसकेपछि सो विषयलाई पूर्णरुपमा विर्सने । उत्तेजित वा निराश नहुने । दिमागलाई खाली गरि तनाव हल्का गर्ने । अर्को विषयको तयारीमा जुट्ने । तर यसबिच एक वा आधा घण्टा एकान्तमा गई आनन्दी भावमा आराम गर्ने ।

११, स्मरण रहोस परिक्षाका दिनहरुमा अनिदो नबस्ने, दिनमा नसुत्ने, ५ घण्टा नियमित रुपमा राति सुत्ने, अन्यथा तनावको समस्या बढ्छ । परिक्षामा आफु शान्त रहने । बितेका सबै कुरालाई सकारात्मक ढङगले सोच्ने ।
अपडेट
लोडिङ हुँदै छ...