सूचना: हामीले हाम्रो वेवसाइटको डिजाइनलाई परिवर्तन गरेर नयाँ स्वरुप दिएका छौँ । कुनै पनि कुराहरु हेर्न दायाँपट्टी रहेको मेनुबारमा गएर सम्बन्धित मेनुमा क्लिक गर्नुहोला । कुनै कुरा खोजी गर्न केही शब्द टाइप गरेर सर्च गर्नुहोला ।

हाम्रो बारेमा

श्री खड्गकाली माध्यमिक विद्यालय चापाकोट-४, घुर्लिचौर स्याङ्जामा अवस्थित वि.सं. २०२० मा स्थापित सामुदायिक विद्यालय हो । यस विद्यालयमा प्रविधि उन्मुख डिजिटल पठनपाठनको अवधारणालाई आत्मसाथ गर्दै मल्टिमिडिया प्रोजेक्टर, ई-लाइब्रेरी, कम्प्युटर तथा आइसिटी प्रविधिको समुचित उपयोग गर्दै निःशुल्क अनलाइन तथा अफलाइन मोबाइल एपद्वारा पठनपाठन गराउने अभ्यास गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि 

पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत स्याङ्जा जिल्ला, चापाकोट न.पा. वडा नं. ४ घुर्लिचौरको प्राकृतिक छटाले भरिपूर्ण र श्री खड्गकाली देवीको न्यानो काखमा अवस्थित यस श्री खड्गकाली मा. वि. को पूर्वमा विरुवा र हरिनाश गा.प., पश्चिममा वालिङ न.पा., उत्तरमा विरुवा गा.प. र वालिङ न.पा. पर्दछन् । श्री खड्गकाली देवीको न्यानो, माया ममता र स्नेहले गर्दा होला यस विद्यालयले आफ्नो ६० औँ वर्ष (वसन्त) पार गर्दासम्म प्रगति हासिल गर्ने कार्यमा सफलता प्राप्त गरिरहेको छ ।
वि.सं. २०१७ सालमा देशको राजनैतिक परिवर्तन सँग सँगै यस मल्याङ्कोट गा.वि.स (तत्कालीन गाँउ पञ्चायत) का जनताहरूमा पनि शिक्षाको ज्योति फैलाउनु पर्दछ  भन्ने अवधारणाको विकास सुरू भयो । मल्याङ्कोट गा.वि.स.मा एउटा पनि विद्यालय नभएकाले विद्यालयको आवश्यकता महशुश गर्दै शिक्षाको ज्योति फैलाउने अभियान चल्दै जाँदा वि.सं २०१९ फागुनमा माथिल्लो घुर्लिचौर निवासी शिक्षाप्रेमी समाजसेवी एवं बुद्धिजीवी सुवेदार. स्व. श्री टेक बहादुर खाँणको सल्लाह सुझाव अनुसार तत्कालीन प्रधानपञ्च मु. खिम बहादुर खाँणको नेतृत्वमा अन्य शिक्षा प्रेमीहरूलाई साथमा लिई घुर्लिचौरमा विद्यालय स्थापना गर्ने कार्यमा जुट्नु भयो ।
स्थानीय जनताबाट चन्दा संकलन र श्रमदान गरी ढुंगा माटो र खरको ३ कोठे विद्यालय भवन निर्माण कार्य सम्पन्न भयो । स्थापित विद्यालय श्री खड्गकाली प्राइमरी स्कुल – मल्याङ्कोट, च्यारे भञ्ज्याङ् प. ४ नं. भिर्काेट भनी नामकरण गरियो । यसरी वि.सं २०१९ साल फागुन १ गते विधिवत रुपमा यस विद्यालयको स्थापना भयो ।
स्थापनाको शुरुमा कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन भएको थियो । विद्यालयलाई स्वीकृतीका लागि संस्थापक अध्यक्ष मु. खिम बहादुर खाँण जिल्ला शिक्षा निरीक्षक कार्यालय स्याङ्जामा पटक पटक धाउने कार्य गर्नुभई २०२० साल भदौ १८ गते विद्यालयले कक्षा १ देखि कक्षा ५ सम्म विद्यालय सञ्चालन गर्ने स्वीकृति प्राप्त भयो तर आर्थिक सहयोग प्राप्त भएको थिएन त्यसैले ३ जना शिक्षकहरूको तलव भत्ताको लागि चन्दा संकलन, विद्यार्थीबाट शुल्क, जिन्सी (मकै, धान, कोदो ) संकलन गरिन्थ्यो । वि.सं २०२१ सालमा ५ कोठे कच्ची भवन निर्माण भयो जसको लागि विद्यालयले पहिलो पटक सरकारी आर्थिक रकम रु.२४०/– प्राप्त गरेको थियो । २०२३ सालदेखि वार्षिक रु ३००/– आर्थिक रकम प्राप्त गर्न शुरुभई २०२५ देखि वार्षिक रु. ११००/– आर्थिक सहयोग प्राप्त भयो । यही आर्थिक सहयोग २०३० सालसम्म निरन्तर प्राप्त हुँदै गयो । राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ स्याङ्जा जिल्लामा २०३० सालदेखि लागू भएपछि १–५ को प्रा.वि. तहलाई १–३ बनाएपछि यस विद्यालय १–३ प्रा.वि तह कायम भयो । २ जना शिक्षक दरबन्दी प्राप्त भयो । २०३६ सालसम्म यस विद्यालयको भवन अत्यन्त जीर्ण अवस्थामा पुगिसकेको थियो अत: तत्कालीन विद्यालय सञ्चालक समितिका अध्यक्ष भिम बहादुर खाँण (शाही) को सक्रियतामा विद्यालयले टीनको छादन प्राप्त गर्‍यो । २०३७ सालदेखि कक्षा ४ (नि.मा.वि तह) सञ्चालन भई २०३८ सालमा कक्षा ५ सञ्चालन भयो र शिक्षक दरबन्दी ५ जना कायम भयो भने १ जना सरकारी पियन दरबन्दी प्राप्त भयो । वि.सं २०४१/०४२ शैक्षिक सत्र देखि  कक्षा ६ सञ्चालन भयो तर जिल्ला शिक्षा कार्यालयबाट अस्थायी अनुमति समेत प्राप्त नभएकोले वार्षिक परीक्षा सञ्चालन गर्न नपाई श्री महेन्द्र मा.वि. दिसिङ्कोटबाट परीक्षा दिलाइयो  । २०४२/०४३ मा कक्षा ६ सञ्चालन गरिएन । यसै भेगका जनताहरूको तीब्र चाहना अनुसार २०४४/०४५ मा पुन कक्षा ६ सञ्चालन गरियो र २०४६ सालमा अस्थायी अनुमति प्राप्त भयो । वि.सं. २०४५/०४६ मा पुरानो जीर्ण २ तले ४ कोठे भवन भत्काई ३ कोठे भवन निर्माण गरियो । २०४७ देखि निजी स्रोतबाट कक्षा ७ सञ्चालन गरियो । वि.सं. २०४६ बाट प्रा.वि. तहमा ६ जना दरवन्दी कायम भयो । शैक्षिक सत्र २०५०/०५१ देखि कक्षा ८ सञ्चालन शुरु भयो । २०४९ देखि नि.मा.वि अनुदान प्राप्त भयो र २०५३ सालदेखि २ जना नि.मा.वि. को दरबन्दी शिक्षक  कायम भयो ।
शैक्षिक सत्र २०५६/२०५७ देखि जि.शि.का. स्याङ्जाले शिशु कक्षा सञ्चालन गर्ने स्वीकृती प्रदान गर्दै एक जना सहयोगीलाई अनुदान दिदै आएको छ ।
२०५८ सालमा पुन: हाल २ तले पक्की भवनको अगाडि रहेको वर पीपलको चौतारी लाई फ्याँकेर २०५० सालमा दक्षिण मोहडा गरी बनेको २ कोठे कच्ची भवनसँग जोडेर थप २ कोठा गरी ४ कोठे भवन निर्माण गरियो जसमा स्थानीय जनताहरूको श्रमदान उल्लेख्य रहेको थियो । त्यसैगरी २०५९ सालमा प्राथमिक तथा आधारभूत शिक्षा परियोजनाले जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आर्थिक सहयोगमा २ कोठे स्रोतकेन्द्रको  भवन निर्माण गर्‍यो । २०६१ सालमा JICA संस्था मार्फत जिल्ला शिक्षा कार्यालयको  सहयोगबाट २ कोठे ट्रष्ट भवन निर्माण गरियो जुन २०५० र २०५८ सालमा  बनेको ४ कोठे भवनलाई भत्काई बनाइएको थियो । यसै गरी २०६२ सालमा बृटिश गोर्खा वेल्फेयर स्याङ्जाको अनुदान एवं अभिभावक चन्दा संकलन र श्रमदान बाट २ कोठे पक्की भवन (हालको पश्चिम मोहडा) निर्माण सम्पन्न भयो । 
वि.सं. २०६५ देखि यस विद्यालयमा मा.वि.तहको कक्षा ९ सञ्चालन शुरु गरियो भने २०६६ देखि कक्षा १० सञ्चालन भयो । २०६६ देखि मा.वि. राहत शिक्षक १ र  नि.मा.वि. राहत १ गरी २ जना शिक्षक दरवन्दी थप भयो । २०६५/०६६ सालमा Room To Read को सहयोगमा ६ कोठे जिर्ण भवन (उत्तर मोहडा) को ठाँउमा १०० फिट लम्वाई र चौडाई १६ फिटको ४ कोठे पक्की भवन र १ पक्की सौचालय निर्माण भयो । २०६६ सालमा Room To Read को सहयोगमा श्री खड्गकाली ज्ञान विकास पुस्तकालयको स्थापना भयो जसमा भूगोल, इतिहास, साहित्य, कला, विज्ञान, प्रविधि, सामाजिक, भाषा, सामान्यज्ञान, खेलकुद, धर्म, दर्शनका ३३०० थान पुस्तकहरू रहेको छन् । आधुनिक सुचना र प्रविधिको युगलाई मध्यनजर राखी भविष्यमा यस विद्यालयमा कम्प्युटर शिक्षा लागु गर्ने उद्देश्यकासाथ जि.शि.का. स्याङ्जाको विशेष सहयोग र विद्यालय कोषबाट ३ थान कम्प्युटर र १ थान फोटोकपी मेशिन खरिद गरियो । विद्यालयमा खेल मैदानको आवश्यकतालाई मध्यनजर राख्दै १ रोपनी बरावरको जग्गा खरिद गरियो । २०६६/२०६७ मा दव्द्ध प्रभावित विद्यालयका रुपमा शान्ति तथा पुनस्र्थापना मन्त्रालयका कक्षा कोठा थपका लागि योजना प्रस्तावित गरिए अनुसार योजना स्वीकृत भई कार्यान्वयनको चरणमा छ ।  २०६८ सालमा थप १० थान र २०७० मा  ICT  कार्यक्रम अन्तर्गत जि.शि.का. बाट  ५ थान  कम्प्युटर थप गरी गरी १८ थान कम्प्युटर  मध्य  गरी १६ थान कम्प्युटरबाट कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा प्रदान गर्दै आएको छ । 
यस विद्यालयले २०६६ सालको एस.एल.सी परीक्षामा ३७ जना विद्यार्थीलाई पहिलोपटक सहभागी गराएकोमा प्रथम श्रेणीमा २, द्धितीय श्रेणीमा २४  र तृतीय  श्रेणीमा १ जना गरी २७ जना (७२.९७%)  विद्यार्थीहरु उर्तिण भएका थिए । यसै गरी २०६७ मा (९७.७%) , २०६८ सालमा ८५% , २०६९ मा ४०% र २०७०  सालमा २९% विद्यार्थीहरू उत्र्तीण भएका छन् । यस विद्यालयको गौरवको अर्को पक्ष भनेको खेलकुद  हो । हाम्रो विद्यालयले जिल्ला खेलकुद समिति स्याङ्जाको आयोजनामा सञ्चालित राष्ट्रपति रनिङ शील्ड अन्तर मा.वि. खेलकुद प्रतियोगितामा उल्लेख्य नतिजा प्राप्त गरेको छ । २०६२ सालदेखि यस विद्यालयले हालसम्म नियमित रुपमा शैक्षिक भ्रमण (२०७२ नवौं) कार्य सम्पन्न भैसकेको छ । जसले गर्दा विद्यार्थीहरूले ऐतिहासिक, धार्मिक, भौगोलिक, साँस्कृतिक स्थल र सम्पदाहरूको अध्ययन गर्ने सुवर्ण अवसर प्राप्त गरेको छ । जुनियर रेडक्रस सर्कलको २७ औं जिल्ला स्तरीय गोष्ठी आयोजना गर्ने सुवर्ण अवसर समेत  प्राप्त गर्‍यो।
यस विद्यालयले २०७० बैशाखमा स्वर्ण जयन्ती सभ्य एवं भव्यका साथ सु–सम्पन्न गरिसकेको छ भने सो अवसरमा विद्यालयले “स्वर्ण महोत्सव स्मारिका – २०७०” प्रकाशित गरेको छ ।

ख) भौगोलिक अवस्था

स्याङ्जा जिल्लाको दक्षिण पूर्वमा अवस्थित यस विद्यालय समुद्र सतहबाट झण्डै ७९६ मि उचाईमा रहेको छ । यस विद्यालय रहेको स्थान स्याङ्जा जिल्ला चापाकोट-४ घुर्लिचौरको उत्तरतर्फ करिब ४५°– ५०° को कोण बनाई उत्तरतर्फ ढल्केको रीपपाखा, वन र च्यारेखोला छ भने दक्षिण तर्फ ३०°– ६०° को कोणमा ढल्केको आवदी जमिन सहित लुम्दीखोलामा रहेको छ । पूर्वतर्फ करिव ३०० मी देखि ५०० मि को उचाइमा रहेको कोट गाउँ छ । पश्चिम तर्फ माथिल्लो घुर्लिचौर, सर्वेडाँडा, डुन्डाँडा, पोम्दी, लग्दा गाँउ रहेको छ । विद्यालय अवस्थित क्षेत्र ३.५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

ग) विद्यालयको समुदायको बनोट 

यस विद्यालय सेवा क्षेत्रभित्र ठकुरी गुरुङ्ग मगर, क्षेत्री, व्राम्हण, दलित नेवार, जातजातिहरू रहेका छन् । विद्यालयको सेवा क्षेत्र भित्र अधिकांश हिन्दु धर्म मान्नेहरू र केही वौद्ध र बोन धर्म मान्नेहरु भएकोले जातजाति अनुसार सौरमास र चन्द्रमास चाडपर्वहरु एवं संस्कार मान्दै आएको हुनाले यस क्षेत्र विविध संस्कृतिहरूले भरिएको छ । सबैजसोले नेपाली भाषालाई नै मातृभाषाको रुपमा प्रयोग गर्दै आएका छन् भने केही गुरुङ्गहरूले घरमा गुरूङ्ग भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाइन्छ । 
यहाँका अधिकांश मानिसहरू कृषि पेशामा आवद्ध छन् तापनि कृषि पेशाबाट आफ्नो जीवन धान्न गाह्रो छ । अधिकांश मानिसहरू भारतीय र वृटिस भूतपूर्व सैनिकहरू रहेका छन् भने केही बहालवाला भारतीय सेना, नेपाली सेनामा छन् । रोजगारीको सिलसिलामा बैदेशिक रोजगारमा जानेहरूको संख्या पनि बढी नै छ । यस क्षेत्रको मानिसहरूको आर्थिक स्तर मध्यम छ ।