संगतले मात्र छोराछोरी विग्रिँदैन, व्यवहार निर्धारणमा प्रभाव पार्ने मुख्य तत्वहरु
विद्यार्थी भाईवहिनीहरु ! हाम्रो चिन्ता सदैव तिमीहरुको पढाई प्रति हुन्छ । त्यसैले त तिम्रो स्वास्थ्यको, मितव्ययिता र आर्थिक अनुशासन लागि शिक्षकले सधैं तिम्लाई हप्काई दप्काई गर्ने । यो हैन कि शिक्षकले तिमीहरू माथि शासन गर्छ । मेहनत, लगनशीलता, परिश्रम र भविष्यको चिन्ता त विद्यार्थी स्वयं आफैले गर्ने हो । अरुको विषयको चिन्ता त कमजोर मनस्थितिका रोगीहरुले मात्रै गर्ने गर्छन् तिमीहरूले होईन ।
त्यस्तै, समस्त अभिभावक, शिक्षक र यस लेखको आम पाठकहरु । यो मैले भनिराख्नु जरुरी छैन कि; अब तपाईका छोराछोरी हुर्किसकेका छन् । के ठिक, के बेठिक आफैं छुट्ट्याउन सक्छन् । पूर्वीय सभ्यता संस्कृतमा एउटा श्लोक पनि छ - "पाँचबर्ष सम्म छोराछोरीलाई पुलपुल्याएर पालौंं, दशबर्षदेखि हप्काई दप्काई गरौं । अनि, सोह्र बर्ष पुगेका छोराछोरीलाई साथी समान व्यवहार गरौं ।"
प्रसंग थोरै मैले आफैतिर मोड्न चाहेँ । असार १५ मा म गाउँ [चापाकोट-८ (लग्दा), स्याङ्जा] बाट खास कामले पोखरा आएको थिएँ । ब्याचलर पढ्दा साथीको गाउँमा गएको थिएँ । गाउँको तरुना तरुनीसंग भन्दा बूढाबूढीसंग मेरो राम्रो हेलमेल भएको थियो । अचानक साथीको गाउँको एकजना बुवाले मलाई फोन गरेर सल्लाह र परामर्श माग्नुभयो ।
उहाँको पहिलो समस्या यो थियो कि छोराछोरीलाई अब कहाँ राखेर पढाउने ? राम्रै जागिर, थोरै खेतिपाती र पुस्त्यौनी किराना पसल भएका ती बुवाको पोखरा/काठमाडौमा न घर छ, नत आफन्त । अन्त्यमा पोखरामा छोराछोरीलाई कोठा भाडा लिएर राख्नुभन्दा उहाँकै गाउँको साथीले चलाएको होष्टलमा छोरीलाई र छोरालाई कलेजकै होष्टलमा राख्ने निर्णय गर्नुभएको रहेछ । अनि मसंग सल्लाह माग्नुभयो । उहाँले फोनमै निकै चिन्ता व्यक्त गर्नुभयो । म अलमलमैं परें । खासमा म त्यति उमेर छिप्पिएको मान्छे पनि होइन जसले राम्रो सुझाव दिन सकोस् । तै पनि शिक्षण पेशामा लागेपछि उहाँहरु मलाई सानै उमेरको भएपनि आफूसरहकै व्यवहारमा कुरा गर्नुहुन्थ्यो । उहाँहरुको चिन्ता छोरा/छोरी विग्रेलान् कि भन्ने रहेछ ।
उहाँहरूले सबभन्दा पहिला साथी संगतिको चिन्ता व्यक्त गर्नुभयो । मैले सोझे उहाँहरुलाई भनें, चिन्ता नलिनुहोस् तपाईको छोराछोरीको चरित्र र आनिबानिमा अब साथी संगातीको खासै प्रभाव पर्दैन । उनीहरु मेरा कुराप्रति अविश्वास गर्दै आफ्नै कुरामा रटिन थाले - "हाम्रो गाउँको सन्तेकेको छोरा इन्जिनियर कि खै के जाति हो' कुन्नी पढ्न पठाका, बजारको ट्यापे केटाहरुसंग लागेर बिग्रिन लाग्याछन रे…"
मैले उहाँहरूलाई सम्झाउँदै बुझाउँदै व्यवहार निर्धारण सम्बन्धमा केहिँ सुझावहरु दिएँ । यी समस्या उहाँहरुको मात्र नभए आम अभिभावको हुने भएकाले यस श्री खड्गकाली मा.वि. को वेवसाइटबाट आम अभिभावकसामु केही सुझावहरु राख्न चाहन्छु । व्यवहार विज्ञानका अनुसार कुनै पनि व्यक्तिको चरित्र एवं स्वभाव बन्नमा पाँच कुराको प्रभाव रहेको हुन्छ -
१. जेनेटिक/जीन तथा बंशानुगत गुण: बालबालिकाहरुको स्वभाव, चरित्र र व्यक्तित्वमा आफ्ना बाबु, आमा, हजुरबा, हजुरआमा वा परिवारका अन्य सदस्यको डिएनएबाट गुण एवं स्वभावहरु आउँछन् । त्यसको अत्यधिक प्रभाव हुन्छ । बंशानुगत गुणहरु सँगसँगै चरित्र र स्वभाव कस्तो हुन्छ भन्ने प्रभाव हुन्छ । कतिपय अनुसन्धानले देखाएको छ कि इलेक्ट्रोन प्रोटोन र न्युट्रन जसरी सानो सानो कणमा विभक्त गर्दा पनि उहि रहन्छ त्यसै गरि जीनको प्रभाव पनि सन्तानहरुमा पर्छ । भलै त्यसमा वातावरणले पनि प्रभाव पार्न सक्छ । जसरी चिकित्सकहरुले विरामीको केश हिस्ट्री लिँदा आमा बाबुहजुरबा हजुर आमालाई के कस्ता रोगहरु सुगर, प्रेसर आदि इत्यादि रोग थिए भनेर सोध्छन् । त्यो पनि एक प्रमाण हो । चरित्रमा पनि जीनको अत्यधिक प्रभाव हुन्छ । यो स्वत आउने गुणहरु हुन् जसमा व्यक्ति स्वयम्को भने कुनै नियन्त्रण हुँदैन ।
२. प्यारेन्टिङ्ग अर्थात अविभावकत्व: जोसँग बच्चा हुर्कन्छन्, जसले बालबालिकालाई खुवाउने पियाउने, बोल्ने, खेल्ने हास्ने हसाउँने, रुँदा फुल्याउने, फुक्र्याउने, हप्काउने, दप्काउने, नियम, अनुशासनका घेरा कोर्ने काम गर्दछन् यसले पनि ठूलो प्रभाव पार्दछ ।
यसो त यदाकदा हाम्रो समाजमा यो पनि सुन्न पाइन्छ "मामाघरमा हुर्केको छोरा/छोरी कति सोझा छन्, यो चाहीँ बाउआमासंग पुल्पुलिएर मात्तिएका… ।" हो, कतिपय सन्दर्भमा 'बुढा भएका हजुरबालाई डोकोमा बोकेर भिरबाट फाल्न लागेका बाबुलाई साना छोराछोरीले डोको चाँहि फर्काएर ल्याउनु होस् है' भनेको प्रसंग चलनचल्तीमा छ । भोली तपाईलाई यहि डोकोमा हालेर फाल्नुपर्छ, बच्चाले भनेपछि बा/आमाको चेत खुलेको कथा समाजमा चर्चित छ । योे भनेकै प्यारेन्टिङ्ग हो । पहिलो पाठशाला बाबु–आमा नै हो भन्ने यसबाट पनि पुष्टि हुन्छ ।
३. स्कुलिङ्ग वा शैक्षिक संस्था, पाठ्य सामग्री, शिक्षक र शिक्षण: तपाईले के कस्तो शैक्षिक संस्थामा बच्चालाई पढाउनु भएको छ वा पढाएको निगरानी गर्नुभएको छ ? त्यहाँको वातावरण, सिकाई, शिक्षक–शिक्षिकाहरुको आनि, बानी र व्यवहारहरु त पक्कै हेक्का राख्नुभएको होला । पहिलो सिकाइका गुरुहरुका अभिव्यक्ति र व्यवहारले बालबालिकामा प्रेरणा उत्पन्न हुन्छ । के कस्ता पुस्तक पढ्छन् ? वातावरमा उपलब्ध सिकाइ सामाग्रीहरुको प्रभावमा व्यक्तित्व र चरित्र निर्माण हुन्छ । खासमा शिक्षकको जीवनको भोगाई केटाकेटिहरुको सिकाई हुन्छ भन्दा फरक पर्दैन । आलोचनामा हुर्केको बच्चाले निन्दा गर्न सिक्छ र प्रशंसामा हुर्केको बच्चाले अरुको कदर गर्न सिक्छ । वैरभावमा हुर्केको बच्चाले झगडा गर्न सिक्छ, सहनशीलतामा हुर्केको बच्चा क्षमाशील बन्न सिक्छ, उपहासमा हुर्केको बच्चाले संकुचित हुन सिक्छ, प्रोत्साहनमा हुर्केको बच्चाले आत्मविश्वासी हुन सिक्छ । निस्पक्षतामा हुर्केको बच्चाले न्यायनिसाफ सिक्छ भने सुरक्षामा हुर्केको बच्चाले माया पाउन सिक्छ । आदरणिय अभिभावक ज्यूहरु, अब सोंच्नुस् - 'तपाईका छोराछोरी कस्तो वातावरणबाट गुज्रिएका छन् ?' किनकि विगतले वर्तमान र वर्तमानले भविष्यलाई मार्ग निर्देश गरिरहेको हुन्छ ।
४. पियर्स अर्थात साथीसंगाती र सामाजीक बातावरण: यसको प्रभाव व्यक्तिको व्यक्तित्व र चरित्र निर्माणमा परिरहेको हुन्छ । हुर्कदाका बखतमा पारिवारिक, सामाजिक सम्बन्ध, बालबालिकाको वरिपरिको वातावरण आदिले उनीहरुले सबैभन्दा धेरै समय व्यतित गर्ने कुरा, नजिकका साथीहरु, धार्मिक, आर्थिक, राजनीतिक, साँस्कृतिक, रहन सहन, समाज, सूचना प्रविधिको प्रयोग आदि कुराबाट व्यक्तिको चरित्र निर्माण हुन्छ । यिनै प्रभावले आफूलाई पोजिसनिङ्ग गरिरहेको हुन्छ ।
५. ड्रीम वा सपना: बच्चा भविष्यमा आफू के कस्तो बन्न चाहन्छ बालबालिकाले माथिको चारवटै तहबाट भित्रभित्रै सपना बुनेका हुन्छन् । आफ्नो काल्पनिक रुप तयार गर्दै सोहि अनुरुप चरित्र निर्माण भएको हुन्छ । भविष्यमा कलाकार, गायक, संगीतकार, नेता, लेखक, कवि, डाक्टर, इन्जिनियर आदि ईत्यादि जे बन्ने सुसुप्त सपना बनाएको हुन्छ सोहि अनुरुप आचरण र व्यवहार गर्दै जान्छ । यस्ता कुराको प्रभावमा व्यक्तिको चरित्र निर्माण हुन्छ । यी विषयमा सामान्य ज्ञान भएमा अविभावकले आफ्ना छोराछोरी विग्रन्छन् कि भनेर चिन्तित भैरहनु पर्दैन । साथी संगातीको प्रभाव त्यतिधेरै हुँदैन जति अन्य चार आयामहरुमा छन् । तसर्थ अभिभावक ज्यूहरु, आफ्नो बच्चालाई अरुको देखासिकी गरेर र SEE को प्राप्ताङ्कमा आधारित भएर साइन्स, कमर्स, नर्स हैनकि उनीहरुको रुचि अनुसार विषय पढ्न उत्साहित गर्नुहोला । धन्यबाद!
(बिकास गुरुङ)
सामाग्रीको प्रकृति : महत्त्वपूर्ण टिप्स
Bikas Gurung
यस वेबसाईटका सम्पूर्ण सूचना, विज्ञप्ती, लेख वा अनलाइन सामाग्रीहरू श्री खड्गकाली माध्यमिक विद्यालय, चापाकोट-४, (घुर्लिचौर) स्याङ्जाको विद्यालय प्रशासनद्धारा प्रकाशित गरिएको हो । यदि कुनै समस्या वा जिज्ञासा भएमा तथा लेखमा कुनै त्रुटी औंल्याउनुभएमा हाम्रो सूचना अधिकारीलाई सम्पर्क गर्नुहोला ।
- Bikas Gurung
- चापाकोट-४, (घुर्लिचौर) स्याङ्जा
- office@khadgakali.edu.np
- +9779762749881
Post a Comment